चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा



काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ । आईतबार दशरथ रंगशालामा एफसी चितवनलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १९ औं मिनेटमा पापा इबु केबेको गोलमा ललितपुरले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमा ललितपुरले दोस्रो गोल थप्यो ।

दिनेश हेन्जनको क्रसलाई बिफल गर्ने क्रममा चितवनका डिफेन्डरले क्लियर गरेको बललाई ललितपुरका विवेक पौडेलले भलीमार्फत गोल गर्न सफल रहे ।

खेलको अन्तिम मिनेटमा राफिक अमिनोले ललितपुरका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा गोल गर्दै चितवनलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर इन्जुरी समयमा प्राप्त पेनाल्टीमा पापा इबु केबेले पेनाल्टीमा गोल गर्दै ललितपुरको जित सुनिश्चित गरेका थिए ।

खेलको अन्तिम मिनेट चितवन १० खेलाडीमा सिमित हुन पुगेको थियो । दोहोरो पहेलो कार्ड खादै उत्सव राईले इन्जुरी समयमा मैदान छाडेका थिए ।

दुवै टिमले खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका थिए भने एक अर्काविरुद्ध आक्रमक खेल पस्किएका थिए । केही बल गोलकिपरले उत्कृष्ट बचाउ गरे भने केही बल दुवै टिमको पोस्टमा लागेर फर्किएको थियो ।

इन्जुरी समयमै ललितपुरका केबेको प्रहार पोस्टमा लागेर बाहिरिएपछि उनी ह्याट्रिक गर्न चुकेका थिए ।

ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । चितवन ५ अंक सहित पाँचौं स्थानमा यथावत रह्यो ।