कांग्रेस महासमिति बैठक पुनः सर्ने

कांग्रेस महासमिति बैठक पुनः सर्ने



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः सर्ने भएको छ । पुस १६–१९ का लागि तय भएको महासमिति बैठक फागुन अन्तिम वा चैत पहिलो सातासम्म सार्ने तयारी भएको बुझिएको छ । यसलाई औपचारिकता दिन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । यो बैठकले महासमिति बैठकको नयाँ मिति पास गर्ने पार्टी स्रोतले ग्लोब नेपाललाई बतायो ।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनपछि मात्र महासमिति बैठक बस्नु उपयुक्त हुने निष्कर्ष निकालिएको छ । राष्ट्रियसभाको निर्वाचन अगाडि नै महासमिति बैठक बसे पार्टीभित्र भाँडभैलो हुने आंकलन गरिएको छ । अध्यक्षसहित कम्तीमा १० सांसद राष्ट्रियसभामा पठाएर महासमिति बैठक आयोजना गर्दा यसले कांग्रेस कार्यकर्तामा राम्रो सन्देश जाने निष्कर्ष धुम्बाराहीको छ ।

महासमिति बैठक सार्दा केन्द्रीय कार्य सम्पादन समितिमा विरोधको ठूलो स्वर नआउनेसमेत धुम्बाराहीले निष्कर्ष निकालेको छ । संस्थापन इतर भनिन डा. शेखर कोइरालासमूह विभाजित हुनु, चन्द्र भण्डारी र डा. मीनेन्द्र रिजाललाई आफ्नै कोटाबाट केन्द्रीय सदस्यमा मनोनित गर्नु तथा दुई महामन्त्रीमध्ये एक विश्वप्रकाश शर्मालाई काखी च्याप्नुले पार्टीभित्र शक्तिशाली सभापति देउवाविरुद्ध विरोधको स्वर मलिनो सुनिन सक्छ । पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘नेता कोइराला र महामन्त्री गगन थापाले सभापति देउवाको छुट्टाछुट्टै विरोधकाे नाममा विराेध गर्नेछन् ।’

यसपटक महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डाले राम्रै स्थान पाउने आकंल गरिएको छ । छिमेकी मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टी (भाजपा) झन् शक्तिशाली बन्दै जानु तथा नेपालको सीमा जोडिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शक्तिशाली बन्नु नेपाललाई हिन्दू राष्ट्र बनाउन थप सहयोगी बन्ने विश्लेषण गरिएको छ । यो काम कांग्रेसबाट मात्र सम्भव हुने भएकाले यसपटकको महासमिति बैठकमा शंकर भण्डारी र देवेन्द्रराज कणेल नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने एजेन्डा प्रवेश गराउने तयारीमा जुटेको समाचारस्रोतको दाबी छ । यो एजेन्डाले पार्टीभित्र ठूलै रडाको मच्चिने बताइएको छ ।

चिनियाँहरुको ‘ब्लाक लिस्ट’ मा परेका कांग्रेस सभापति देउवा भारत र अमेरिकालाई चिढ्याउन चाहँदैनन् । कांग्रेस महासमिति बैठकले हिन्दू राष्ट्रको एजेन्डा पास गरे भारत त खुशी होला, तर अमेरिका चिढिने सम्भावना त्यत्तिकै बलियो छ । भारत र अमेरिका दुवैलाई सन्तुलित राख्न सभापति देउवाको काँधमा गम्भीर जिम्मेवारी छ । हिन्दू राष्ट्रको मुद्दा गिजोलेर पार्टीलाई दुरगामी असर पर्ने काम सभापति देउवाले कार्यकालको अन्त्यतिर गर्लान भन्ने अनुमान थोरै मात्र गरेका छन् ।