पहिचान पक्षधरले गरेको बन्दले खोटाङमा यातायात सेवा ठप्प

पहिचान पक्षधरले गरेको बन्दले खोटाङमा यातायात सेवा ठप्प


ग्लोब नेपाल
243
Shares

खोटाङ । पहिचान पक्षधर समुहले आव्हान गरेको बन्दका कारण आज खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप पहिचान पक्षधर समुहले आजदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् ।

समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।

बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत् पहिचान पक्षधर समुहले गएराति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए ।

तर सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । चलेका गाडीलाई स्कर्टिङ गरिरहेको उनले जनाए ।

पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानबिरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ ।