फेब्रुअरी १ मा मेस्सी र रोनाल्डोको भिडन्त पक्का

फेब्रुअरी १ मा मेस्सी र रोनाल्डोको भिडन्त पक्का



काठमाडौं । विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् । मेस्सी आबद्ध क्लब इन्टर मायामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् ।

यसअघि पनि दुई क्लबबीच रियाद सिजन कपमा प्रतिस्पर्धा हुने चर्चा थियो । तर इन्टर मायामीले त्यसबेला छलफल भइरहेको र खेल हुनेबारे पछि जानकारी दिने बताएको थियो । यतिबेला भने मेस्सी आवद्ध इन्टर मायामी क्लबले नै आफ्नो क्लबले रोनाल्डो आवद्ध अल–नासरसँग भिड्ने पक्का भएको जनाएको हो ।

सन् २०२४ को जनवरी २९ देखि रियाद सिजन कप हुँदैछ । फेब्रुअरी १ तारिखमा हुने दोस्रो खेलमा मेस्सी आवद्ध इन्टर मायामी र रोनाल्डो आवद्ध अल–नासरबीच प्रतिस्पर्धा हुने इन्टर मायामीले जनाएको छ । पहिलो खेल भने जनवरी २९ मा हुनेछ । जसमा नेमार जुनियर आवद्ध अल–हिलालले अल–नासरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा मेस्सी र रोनाल्डोको उपस्थिति हुनेछ तर घाइते भएका कारण नेमारले भने यो प्रतियोगिता खेल्ने छैनन् । साउदीको रियाद सिजन कपका आयोजकले मेस्सी र रोनाल्डोको फुटबल प्रतिस्पर्धालाई ‘द लास्ट डान्स’ भनेका छन् ।

मेस्सी र रोनाल्डो आमनेसामने हुने पक्का भएपछि यतिबेला विश्वभरका फुटबल समर्थक खुसी भएका छन् । हालसम्म उनीहरूले ३६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये मेस्सी आबद्ध टोलीले १६ खेल जितेको छ भने रोनाल्डो आबद्ध टोलीले ११ खेल जितेको छ । यी दुवै खेलाडीबीचको प्रतिद्वन्द्विता वर्षौंसम्म मानिसहरूले खुबै रुचाएका थिए । यतिबेला उनीहरूबीचको सम्भावित अन्तिम खेललाई पनि मानिसहरूले व्यग्र प्रतीक्षा गरिरहेका छन् ।