पहिचानवादीलाई ओलीको आग्रह : आउनुस् सँगै बसेर समस्या समाधान गरौं

पहिचानवादीलाई ओलीको आग्रह : आउनुस् सँगै बसेर समस्या समाधान गरौं



ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलले गरिरहेको मध्यपहाडी लोकमार्गको यात्रा कोहि कसैको समर्थन र विरोधमा नभएको प्रष्ट पारेका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन कोशी प्रदेश प्रवेश गरेको यात्रा टोलीलाई ओखलढुंगाको हर्कपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् । बैतडीको झुलाघाट गोठालापानीबाट सुरु भएको यात्रा आज ओखलढुंगा पुगेको हाे । ‘हामी कसैको विरोधमा छैनौँ, हामीले कसैको चित्त दुखाउनु पनि छैन’, उनले भने, ‘हामीले यो कठिन यात्रा २ हजार किलोमिटर हिँडिसकेका छौँ । हाम्रो उद्धेश्य देश जाग्नुपर्यो, जनता जाग्नु पर्यो भन्ने हो । यो कसैका विरुद्ध होइन ।’

ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन् । उनले सरकार सामाजिक सद्भाव बिगार्न लागिपरेको बताए । एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै लागिपरेको उनको भनाइ छ ।

उनले पहिचान पक्षधरलाई भावनामा नबग्न उनले आग्रह गरे । सद्भाव कायम गरेर राष्ट्रिय एकता कायम गरेरमात्र देश बनाउन सकिने उनको भनाइ छ । ‘राजनीतिक मतभेद् हुन सक्छन्, ती हल गर्ने संवैधानिक बाटाहरू छन् । सँगै बसेर छलफल गरेर समाधान निकाल्न सकिन्छ, उचालिएर भावनामा नबग्नुस्,’ उनले भन ।

संवैधानिक बाटाहरू प्रयोग गरेर सबैखाले मतभेद्हरू हल गर्न सकिने उनले बताए । पहिचान पक्षधरको निषेधको राजनीतिप्रति कटाक्ष गर्दै उनले सरकार साम्प्रदायिकता भड्काउनेहरूलाई प्रोत्साहन गर्न लागेको र त्यही आडमा केही अराजक गतिविधि भइरहेको बताए ।

उनले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी पदयात्रा अभियान ल्याइएको बताए ।

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधर निरन्तर आन्दोलनमा रहेका छन् ।