वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट



वीरगञ्ज । कार्यकारी अधिकृतको खाली कक्षमा को बस्ने भन्ने विवाद बढ्दै जाँदा मंगलबार वीरगन्ज महानगरपालिकामा उपमेयर, वडाध्यक्ष र कर्मचारीबीच कुटाकुटको स्थिति उत्पन्न भएको छ ।

केही दिनअघि मेयर राजेशमान सिंह नवनिर्मित भवनमा सरेपछि उनको कक्षमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेपछि उपमेयर इम्तियाज आलम हातपातमा उत्रिएका थिए । आफ्नो कक्षसँग जोडिएकाले त्यहाँ आफ्नो सचिवालय राख्नुपर्छ भन्ने उनको दाबी थियो । तर, कर्मचारीले नमानेपछि दुई पक्षबीच कुटाकुट भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बसेको कार्यालयमा उपमेयर आलम सर्न चाहेका थिए ।

महानगरमा कुटाकुट हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका सिंह मेयरमा र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए ।