युक्रेनी सेनाको नियन्त्रणमा रहेका छोरा फर्काइदिन आमा तिलकुमारीको पुकार

युक्रेनी सेनाको नियन्त्रणमा रहेका छोरा फर्काइदिन आमा तिलकुमारीको पुकार


ग्लोब नेपाल
54
Shares

दाङ । बाटोछेउ माथि घर, मान्छेहरु ओहरदोहर गर्दै थिए । केही अधैबैंसे महिला र लोग्ने मान्छेले नआत्तिनुहोस् छोरा जसरी नि घर आईपुगी हाल्छ भन्दै तिलकुमारीलाई सम्झाउँदै थिए ।

रुसी सेनामा भर्ती भएका दाङ तुलसीपुर-१८ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको नियन्त्रणमा रहेको खबर पाएपछि परिवारलाई सान्तवना दिन जानेहरुको आजभोलि भिड छ ।

युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतिकले बोलेको एउटा भिडियो सन्देश परिवारलाई प्राप्त भएसँगै घरमा रुवाबासी चलेको छ । पढ्न भनेर बिद्यार्थी भिसामार्फत रुस पुगेका २२ बर्षीय प्रतीक दश दिनयता घरपरिवारको सम्पर्क नरहेको भन्दै आमा तिलकुमारी पुनले छोराको खोजतलास गरिदिन माग गरेकी छन् ।

मृगौला काम नलाग्ने भएर प्रतीकका बुवा ताराबहादुरको गतबर्ष निधन भयो । ऋणले थिलथिलो परेका परिवारलाई उकास्न ११ लाख रुपैयाँ ऋण थोपार्दै प्रतीक युक्रेनबिरुद्धको लडाईमा होमिएका हुन् ।

त्यसो त घर नजिक तुलसीपुर–१९ थानगाउँका ३७ बर्षिय रामचन्द्र खड्का पनि रुसी र युक्रेनी सेनाको लडाई परी घाईते भएका छन् । दश लाख रुपैयाँ खर्च गरी भारतको नयाँदिल्ली, हैदराबाद, हुँदै दुबईबाट उनी रुस पुगेका थिए ।

बायाँ खुट्टाको साप्रा र कम्मरमा बमका छर्रा र गोली लागेका खड्काको मस्कोस्थित एक अस्पतालमा उपचार भईरहेको छ । बाबुको उपचारपछि घरसम्म ल्याईदिन सरकारसँग छोरा हरिश खड्काले गुहार मागेका छन् ।

दुवैको घटनाले गाउँ पुरै शोकमा डुबेको छ । घर, परिवार, छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले घरमा बसेकालाई सताइरहेको छ ।