गाजामा युद्ध नरोक्ने इजरायली प्रधानमन्त्रीको अडान

गाजामा युद्ध नरोक्ने इजरायली प्रधानमन्त्रीको अडान


ग्लोब नेपाल
54
Shares

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दवाबका बाबजुद पनि इजरायलले हमाससँगको युद्ध अन्तिमसम्मै लड्ने बताएका छन् ।

हमासलाई समाप्त गरेर मात्रै युद्ध रोकिने यस अघिको अडानमा नेतान्याहु अडिग छन् । इजरायली विदेशमन्त्री इलि कोहेनले पनि अन्तर्राष्ट्रिय सहयोग र समर्थन भए पनि नभए पनि इजरायल गाजा युद्ध नरोकिने बताउँछन् ।

अहिलेको अवस्थामा आएर युद्धविराम गर्नु भनेको आतंकवादी संगठन हमासका लागि फेरि संगठित हुन उपहार दिएजस्तै हुने उहाँको भनाइ छ । गाजामा ठूलो संख्यामा सर्वसाधारण नागरिक मारिएको र मानवीय संकटको अवस्था आएको भन्दै युद्ध रोक्न इजरायल माथि ठूलो अन्तर्राष्ट्रिय दवाब छ ।

संयुक्त राष्ट्रसंघीय महासभाले मंगलबार गाजामा युद्धविरामको माग गर्दै गैर-बाध्यकारी प्रस्तावलाई बहुमतले पारित गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध बमबारीले विश्वव्यापी समर्थन गुमाउन थालेको प्रतिक्रिया दिएका छन् ।

इजरायलले गरेको बमबारीबाट पीडित गाजाका नागरिकहरु भारी वर्षा र हावाहुरीका कारण थप प्रताडित बनेका छन् । रातभरको आँधीले आफ्नो घर छोडेर भागेका सयौं हजार प्यालेस्टिनीहरूको अवस्था झनै बिग्रिएको छ ।

इजरायली आक्रमणका कारण गाजामा १८ हजार ६ सयभन्दा बढी प्यालेस्टायनीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते छन् ।