विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्न पर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए । उनले यो सरकारले जनतामा आशसम्म जगाउन नसकेकाेले परिवर्तनको विकल्प नभएको बताएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने उनको दाबी छ । ‘यो सरकारसँग जनता निराश भएका छन्, जताततै भ्रष्टाचार र व्यथिति मौलाएको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । सरकारको असक्षमताका कारण मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता मौलाएको छ ।’
कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिँदै कोइरालाले पहिचानवादीहरूसँग वार्ताको टेबलमा बसेर विवाद मिलाउन पर्ने सुझाएका छन् ।


प्रतिक्रिया