काठमाडौं । नेकपा एमालेले १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ । झुलाघाटमा जस्तै चिवाभन्ज्याङमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरे ।
मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न समृद्धिका लागि संकल्प यात्रा गरेकाे अध्यक्ष ओलीले बताएका थिए ।
ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउँदै मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे ।
उनले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता गरे । उनले वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।
मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले ३० वटा ठूला सभा र एक सय भन्दा बढी कार्यक्रमहरुमार्फत् स्थानीयहरुसँग अन्तर्क्रिया गरेको थियो ।
टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू सम्मिलित थिए ।


प्रतिक्रिया