काठमाडौं । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् ।
मोर्चाले जिल्ला अदालत काठमाडौंबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।
वक्तव्यमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’
नेकपा नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया