काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् ।
सोमबार दिउँसो निर्माणाधीन २ सडकको भर्चुअल निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘परियोजनाहरू भने जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’
गिट्टी, बालुवा, ढुंगा, विद्युतका सानातिना समस्या समाधान गर्ने कुरा काबुमा हुने उनले बताए ।
‘समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ, अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमा नै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन, उनले भने, ‘दुबै महत्वपूर्ण परियोजना समयमै सकिनुपर्ने छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’
‘यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔं । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन,’ उनले भने,‘राष्ट्रिय गौरबका योजनामा काम २ सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल र गणेप्रसाद पाण्डेय तथा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेत ‘एक्सन रुममा उपस्थित थिए ।
प्रतिक्रिया