एनसेल खरिद विक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री

एनसेल खरिद विक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए ।

उनले खरिद विक्री प्रक्रिया चलेका बेला आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बताए ।

उनले भने, ‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएँ । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।’

उच्चस्तरीय समितिले एक महिनाको कार्यावधि पाएको छ ।