एनएसएल : काठमाडौंमाथि वीरगञ्जको शानदार जित

एनएसएल : काठमाडौंमाथि वीरगञ्जको शानदार जित



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा बिरगञ्ज युनाईटेडले सनसनीपूर्ण जित निकालेको छ । बिहीबार दशरथ रंगशालामा बिरगञ्जले शीर्ष चारको दौडमा काठमाडौं रेजर्सलाई ४–१ गोल अन्तरले हराएको हो ।

जित सहित बिरगञ्जले प्लेअफको गणितिय सम्भावनालाई कायम राखेको छ । बिरगञ्जसँगको हारले काठमाडौंको प्लेअफ सम्भावना आफ्नो हातबाट फुत्किएको छ ।

खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले वन टच गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले हानेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्याण्ड गर्न पुगे । पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले गल्ती गरेनन् ।

दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अञ्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन सकेनन् । त्यही बलमा भर्खरै मैदान प्रवेश गरेका सुनिलले गोल गरे ।

५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वीरगञ्ज ४–१ को अग्रता बनाउन सफल भयो । जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ ।