प्रधानमन्त्री कपमा कोशी प्रदेश र एपीएफको लगातार तेस्रो जित

प्रधानमन्त्री कपमा कोशी प्रदेश र एपीएफको लगातार तेस्रो जित



काठमाडौँ । प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल(एपीएफ) क्लबले लगातार तेस्रो जित हात पारेका छन् । आइतबार भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रन र एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले हराएकाे हाे ।

कीर्तिपुर क्रिकेटमैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय २९ रन जोडेको थियो । कोशीका रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३७ रन जोडे ।

मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रन जोड्यो । मधेशका लागि साना प्रविनले २७ र आरती महतोले १८ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कोशीका सबनम राई र एलिसा खडियाले २र२ तथा संगिता राई र रुबिन क्षेत्रीले एक एक विकेट लिए ।

जितपछि कोशीलाई नेटरनरेटमा पछाडि पार्दै एपीएफ ६ अंकसहित पहिलो स्थानमा छ । समान अंक भएको कोशी दोस्रो स्थानमा छ । मधेशले लगातार तेस्रो हार ब्यहोरेको हो भने लुम्बिनीले ३ खेलमा केवल २ अंक जोडेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ५१ रन जोडेको थियो ।

एपीएफका लागि इन्दु बर्माले ७० र ममता चौधरीले ५९ रन बनाए । लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र जोड्न सक्यो । एपीएफका बलर इन्दु बर्माले ३, विनु बुढाले २ तथा रेखा रावल, करुणा भन्डारी र सिता रानामगरले एक एक विकेट हात पारे। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन जोडिन् । चार ब्याटरले खाता खोल्न सकेनन् ।