प्रधानमन्त्री कप : सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप : सुदूरपश्चिम र बाग्मती विजयी



काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएकाे छ ।

आज आइतवार भएकाे खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनकाे फराकिलाे अन्तरले हरायाे । सुदूरपश्चिमले दिएकाे १ सय ५२ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्रै बनाउन सक्याे । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनाैजिया र जानकी थापाले समान ३ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन बनायाे । सुदूरपश्चिमका लागि कविता जाेशीले ५० बलमा नट आउट ७८ रन बनाइन् । बलिङतर्फ कर्णालीकी अञ्जु गुरुङले २ विकेट लिइन् ।

याे जितसँगै सुदूरपश्चिम ३ खेलमा ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । लगातार ३ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा बाग्मती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हरायाे । गण्डकीले दिएकाे १ सय १३ रनकाे लक्ष्य बाग्मतीले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायाे । बाग्मतीका लागि यशाेदा विष्टले नट आउट ३९ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनायाे । गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३२ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी कृष्मा गुरुङ, अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले समान १ विकेट लिइन् ।

याे जितसँगै बाग्मती ३ खेलमा ४ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । गण्डकी ३ खेलमा २ अङ्कसहित पाँचाैँ स्थानमा छ ।