सौराहामा आजदेखि ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’

सौराहामा आजदेखि ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’


ग्लोब नेपाल
54
Shares

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने कार्यक्रम तय भएको छ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् । पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको हो । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको हो ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । यस वर्षको पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताए ।

महोत्सवलाई आर्कषक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखिनै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापतकाले सजाइएको छ । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन ।

२०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटकीय गतिविधि सुरु गरेका हुन् । साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ ।