खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी छाड्दैन : प्रधानमन्त्री

खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी छाड्दैन : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गरे । विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन । यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ । त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौँ ।’

कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिंदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए ।

‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टीमलाई सम्मानसहित पुरस्कृत पनि गरेको छ,’ उनले भने, ‘दक्षिण एशियाली र एशियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्ने २ सय ५२ खेलाडीलाई मासिक भत्ता पनि उपलब्ध गराएको छ । यी प्रोत्साहनसँगै सरकारको ध्यान पूर्वाधार–निर्माणमै केन्द्रित छ । ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल–पर्यटनको ठूलो सम्भावना हासल गर्न सरकारले कुनै कसर छाड्ने छैन ।’

प्रधानमन्त्री प्रचण्डले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् । उनले ससरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको बताए ।

उनले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको उनको भनाइ छ। लोकतन्त्रको सर्बिसिङ र सुद्धिकरण भएपछि जनतामा विश्वास बढेको बताए ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगदेखि बिजुली निर्यातको युगमा देश पुगेको भन्दै यसलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् । उर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आज लगभग सिंगो देशमा विद्युत्को पहुँच पुगेको स्पष्ट पारे । उनले भने, “वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।”

विस. १९६८ मा फर्पिङ जलविद्युतबाट ५०० किलोवाट विद्युत उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका १०४ वर्षमा जम्मा ८०० मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर विगत सात वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता बढेर २८९२ मेगावाट पुगेको छ र जसमध्ये करिव ५४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विगतका हिसाबले यो एक वर्ष करिब ८० वर्ष बराबर भएको बताए ।