काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा यतिबेला कीर्तिपुर सबैको नजरमा परेको छ । कीर्तिपुर नगरपालिकामा मेयर र २ वटा वडाका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ । कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मी, वडा नं. १ का अध्यक्ष हिरालाल महर्जन र वडा नं. ४ का अध्यक्ष स्वतन्त्र निर्वाचित श्यामकुमार अधिकारीको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
लामो समय मृगौला रोगबाट पीडित राजकुमार नकर्मीको साउन १० गते निधन भएको थियो भने वडा नं. १ का अध्यक्ष हिरालाल महर्जनको ०८० फागुन २४ गते कलेजो रोगबाट निधन भएको थियो । वडा नं. ४ का अध्यक्ष श्यामकुमार अधिकारीको चाहिँ बैशाख १ गते मेलाबाट फर्किदा मोटरसाइकल दुर्घटनामा निधन भएपछि उक्त स्थानीय तहहरु जनप्रतिनिधिविहिन बनेका थिए ।
कीर्तिपुर नगरपालिकामा कुन पार्टीको अवस्था कस्तो छ ? हेरौैं विश्लेषण । गत २०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई विश्लेषण गर्ने हो भने कीर्तिपुर नगरपालिका नेपाली कांग्रेसको पक्कड क्षेत्र भन्दा फरक पर्दैन । मेयर, उपमेयर र १० वटा वडामध्ये ९ वटामा कांग्रेस विजयी भएको थियो । ४ नम्बर वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपनि निकटतम प्रतिद्वन्द्वी कांग्रेस नै बनेको थियो ।
यसपटक मेयर पदमा एक स्वतन्त्रसहित शीर्ष तीन दलका उम्मेदवार चर्चामा छन् । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रका तर्फबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार बनेका छन् । यसैगरी स्वतन्त्रबाट सरसफाई अभियान्ता राजमान मानकको चर्चाले पनि व्यापकता पाएको छ ।
वडा नं. १ मा शीर्ष दलका तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइएको छ । यसपटक कांग्रेसले इच्छा महर्जनलाई उम्मेदवार बनाएको छ भने एमालेले पुरानै हर्षमान महर्जनलाई उम्मेदवार बनाएको छ । यसैगरी माओवादीको तर्फबाट सरलगोपाल महर्जन उम्मेदवार बनेका छन् ।
अघिल्लो निर्वाचनमा यो वडाबाट कांग्रेसका उम्मेदवारले ७ सय ७८ मत पाउँदा एमालेका उम्मेदवारले ५ सय ८२ मत पाएका थिए । माओवादीका उम्मेदवारको पक्षमा २७३ मत परेको थियो ।
वडा नं. ४ मा कांग्रेसले पुरानै उम्मेदवार राजेन्द्र बानियाँलाई पुनः दोहो¥याएको छ । एमालेले बद्री बुढाथोकी र माओवादीले नारायण विष्टलाई उम्मेदवार बनाएको छ । यो वडाबाट अघिल्लो निर्वाचनमा श्यामकुमार अधिकारीले १ हजार ३ सय ८० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्व बानियाँले १ हजार ५७ मत पाएका थिए । एमालेको उम्मेदवारले २३६ र माओवादीका उम्मेदवारले ७३ मत पाएका थिए ।
मेयर पदमा अघिल्लो निर्वाचनमा नकर्मी अन्य उम्मेदवारभन्दा ३५३६ मत बढी ल्याएर निर्वाचित भएका थिए । उनले ९ हजार ४३ मत पाउँदा एमालेका ब्रजचार्यले ५ हजार ५ सय ७ मत पाए । यसैगरी माओवादीका महर्जनले ४ हजार ९० मत पाएका थिए । नेकपा एकीकृत समाजवादीले १ हजार १ सय ५३ मत पाएको थियो । यो उपनिर्वाचनमा भने एकीकृत समाजवादीले माओवादीका उम्मेदवार महर्जनलाई समर्थन गरेको छ ।
कूल १० वटा वडाबाट कांग्रेसले ८ हजार ८ सय २२ मत पाएको थियो । मेयर नकर्मीले थप २ सय २१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । मेयर नकर्मी कुनै विवादमा मुछिएका थिएनन् । उनले पार्टीभन्दा पनि स्थानीय जनताको हितलाई सर्वोपरी मानेर काम गरेको स्थानीय बताउँछन् । कीर्तिपुर १ का स्थानीय दिनेश महर्जन भन्छन्, ‘कीर्तिपुर लोकतन्त्रको उर्बर भूमि हो, त्यसैले लोकतन्त्रको हिमायती कांग्रेस यहाँको लोकप्रिय राजनीतिक दल हो । यो उपनिर्वाचनमा पनि कांग्रेससँग अन्य राजनीतिक दलको तुलना गर्न मिल्दैन ।’
अर्कोतिर, स्वतन्त्र उम्मेदवार मानकको चर्चा पनि यतिबेला व्यापक छ । उनी सरसफाई अभियान्ता हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेत आएर मत मागेपछि उनको चर्चा झन् चुलिएको हो । उपनिर्वाचन अघि उनको सरसफाई अभियानले खासै गति लिएको थिएन । त्यसैले उनी निर्वाचित हुने सम्भावना नभएपनि निकटतम प्रतिद्वन्द्वी बन्न सक्ने विश्लेषण आएको थियो ।
यो उपनिर्वाचनलाई ‘मिनी’ जनमत संग्रहको रुपमा हेरिएको छ । विशेष गरी कीर्तिपुरको उपनिर्वाचनलाई राजनीतिक दल र नागरिक समाजले जनमत संग्रहको रुपमा हेरेका छन् । जनता राजनीतिक दलबाट दिक्क बनेको र विकल्प खोजेको भन्ने भाष्य निर्माण भईरहेको बेला यो निर्वाचन परिणामले अर्थ राख्ने राजनीतिका जानकारहरु बताउँछन् । जनताले कस्तो मत जाहेर गर्छन् र कीर्तिपुरवासीले पार्टीहरुलाई कस्तो सन्देश दिन्छन् त्यो हेर्न भने मंसिर १६ सम्म पर्खिनै पर्छ ।
प्रतिक्रिया