राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर २४ देखि २९ सम्म दल दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर २४ देखि २९ सम्म दल दर्ता



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता २४ देखि २९ गतेसम्म दल दर्ता गर्ने भएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मंसिर अन्तिम साता राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।