तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन : प्रधानमन्त्री

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्रीलाई पत्रकारले नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि भनेर सोधेका थिए । उक्त चर्चालाई प्रधानमन्त्रीले खारेज गरे ।

उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’

प्रधानमन्त्रीले आफ्नो यूएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।