नेपाल सुपर लिग : काठमाडौं र झापाले अंक बाँडे

नेपाल सुपर लिग : काठमाडौं र झापाले अंक बाँडे



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलको धेरै अवसर सिर्जना गर्न सकेनन् र पाएका केही अवसरलाई पनि गोलमा परिणत गर्न सकेनन् ।

खेलको २७औँ मिनेटमा झापाको गोललाई फाउल भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । रक्षक अमित तामाङले अर्का रक्षक आन्द्रेश नियालाई दिएको पास विफल भएपछि झापाले काउन्टर अवसर सृजना गरेको थियो ।

मिडफिल्डर प्रदीप लामाको पासमा फरवार्ड जोर्ज सान्चेजको प्रहार अभिषेक बरालले नियन्त्रणमा लिए पनि उनको हातबाट बल फुत्किएको थियो । सोही क्षण अभिषेकमाथि समीराजबाट फाउल हुँदा बलले जाली चुमेको थियो ।

यसबाहेक, खेलमा अरु गतिलो आक्रमण बन्न सकेन ।