नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित

नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित



काठमाडौं । पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ । 

काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे । 

आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ ।

पार्टीले जारी गरेकाे विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ ।

‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ’, विज्ञप्तिमा भनिएकाे छ ।

सरकारसँग गरिएको ३ बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको विज्ञप्तिमा स्मरण गरिएको छ ।