ओलीलाई नौ वर्षीय बालकको पत्र : पेट पाल्नका लागि विदेश जानु नपरोस्

ओलीलाई नौ वर्षीय बालकको पत्र : पेट पाल्नका लागि विदेश जानु नपरोस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले यस्ताे सल्लाह दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

“हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,” ओलीले फेसबुकमा लेखेका छन्, “सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।”