एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ : शेखर कोइराला

एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् ।

पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने दाबीसमेत गरे ।

मंगलबार ओखलढुंगा कांग्रेसको सम्मेलनमा नेता कोइरालाले एनसेल प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्ने बताए । उनले अहिले सबैतिर नागरिक असन्तुष्टि हुनुमा प्रमुख कारण भ्रष्टचार रहेको उनले बताए ।

‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव नै हुँदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल किन बिक्री भयो ?,’ कोइरालाले भने, ‘यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्छ । नेपाललाई भ्रष्टाचारमुक्त बनाउन पनि कांग्रेसले नेतृत्व गर्नुपर्छ ।’

नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए । ‘अहिले जताततै मानिसहरुमा असन्तुष्टि छ । यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो,’ उनले भने, ‘यसलाई सबै मिलेर निर्मूल किन नपार्ने ?’