पाकिस्तान र भारतलाई हराउँदै सेमिफाइनल पुग्छाैँ : कप्तान खनाल

पाकिस्तान र भारतलाई हराउँदै सेमिफाइनल पुग्छाैँ : कप्तान खनाल



काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाई गरेको हो ।

बिदाइ कार्यक्रममा टाेलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गरेर सेमिफाइनलमा पुग्ने बताएका छन् । १९ वर्षमुनिकाे एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ । भारतले ८ पटक र पाकिस्तानले १ पटक १९ वर्षमुनिकाे एसिया कपकाे उपाधि जितेका छन् । यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ प्रतियाेगिताकाे तयारी गरेकाे छ ।

कप्तान खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिकाे टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको प्रतिक्रिया दिए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानसँगकाे खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टाेलीका लागि राम्रो अवसर रहेकाे उनकाे भनाइ छ ।

१९ वर्षमुनिकाे एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । प्रतियाेगिताकाे समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, जापान र यूएई छन् ।

नेपाली युवा टाेलीका प्रशिक्षक जगत टमटाले राष्ट्रिय टाेलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफूहरू थप उत्साहित रहेको प्रतिक्रिया दिए । यो यात्रा अगाडि राष्ट्रिय टोलीसँगकाे अभ्यास खेलले पनि युवा टोलीले राम्रो ‘एक्सपोजर’ पाएको उनको भनाइ छ ।

युवा टोलीकाे बिदाइका क्रममा क्यानका सचिव पारस खड्काले राष्ट्रिय टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए ।

टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको भन्दै राष्ट्रिय टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गरे ।

नेपाली टिम भोलि यूएई प्रस्थान गर्नेछ ।

देव कप्तान रहेको नेपालको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।

नेपालले शुक्रबार पाकिस्तानसँग एसिया कपको सुरुवात गर्नेछ ।