सरकार गैरजिम्मेवार भयो, राजीनामा दिनुपर्छ : ओली

सरकार गैरजिम्मेवार भयो, राजीनामा दिनुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । मेची–महाकाली अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार चरम असफल भएकोले राजीनामा दिनुपर्ने बताएका हुन् ।

ओलीले भने, “अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो, सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”

अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए । उनले देशको अर्थतन्त्र ध्वस्त हुँदै गएको दाबी गरे । कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्सिमा बसेको छ भन्दै प्रश्न समेत गरे ।

राजनीतिक अस्थिरता र अराजकता बढेको भन्दै उनले जनतामा निराशा र अन्योल बढेको बताए । उनले एमालेको नेतृत्व र अगुवाईमा मात्रै देशको विकास हुने, राष्ट्रियताको रक्षा हुन सक्ने बताए ।