बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र



मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उनले बताए ।

उक्त सडकमा विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो । सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब इञ्जिनीयर अधिकारीले बताए । उनले भने, “विसं २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।” यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ । यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुङ्गा प्रयोग गरिएको गुनासो आउने गरेको छ ।

भित्ताको आवश्यकताअनुसार नै ढुङ्गालगायत वस्तु उपयोग गरिएको र सडकको कालोपत्रको मोटाइ पाँच सेन्टिमिटरक रहेको इन्जिनीयर अधिकारीले बताए । आशिष-अनिष जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रका लागि विसं २०७८ वैशाख २२ मा ठेक्का पाएको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाख १३ मा कालोपत्र गर्ने सम्झौता भएको थियो ।

तोकिएको समयमा कालोपत्र पूरा गर्न नसकिएपछि हालै मात्र विसं २०८१ असार मसान्तसम्म कालोपत्र गर्ने गरी म्याद थप गरिएको अधिकारीले जानकारी उनले दिए । बेँसीसहरदेखि ६५ किलोमिटर दूरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्दछ भने मनाङमा ३० किलोमिटर रहेको छ । हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पु¥याइएको आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत–जावत गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ ।