एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी



धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् । युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गर्‍यो ।

आजको पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो । युथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । 

शारदाको ब्याटिंगमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुबास सिंहले १६ रन योगदान दिए । युथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । युथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए । प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे । यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए ।

शारदाको बलिंगमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए । अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए ।