साहुले हडपेको खेतको धान मिटरब्याज पीडितले काटेर भित्र्याए

साहुले हडपेको खेतको धान मिटरब्याज पीडितले काटेर भित्र्याए


ग्लोब नेपाल
54
Shares

सिरहा । सिरहाका मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् । सिरहा नगरपालिका १९, सन्हैठामा हिजो बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका हुन् ।

स्थानीय रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते एक लाख रुपैयाँ लिएका थिए । त्यसबापत उनले चार लाखको कपाली, १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजिनामा पास गरिदिएका थिए ।

उनले भने, ‘लिएको ऋणबापत ४ लाख तिरिसकें । तर, योगेन्द्रले जमिन फिर्ता गरेनन् । उनले थप दुई बिघा १० कठ्ठा ६ धुर जमिन कब्जा गरे ।’ त्यसपछि जग्गा फिर्ताका लागि पटकपटक छलफल र आग्रह गरे पनि योगेन्द्रले नमानेको रामशरण बताउँछन् ।

मिटरब्याजसम्बन्धी आयोग र कानुन बनेपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पनि झुलाउने काम मात्रै भएपछि खेतको धान काटेर भित्र्याएको रामशरण बताउँछन् । जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन) का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् ।