एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेकाे दाबी गरे ।

“एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन,” उनले भने, “यो सार्वजनिक भएपछि लेखा र अर्थ समितिमा छलफल भएको छ । यो हाम्रो समितिमा पनि पर्छ भन्ने आधार छ । सरकारले नै मन्त्रालय हैन समिति बनाएर हेर्छु भनेपछि त्यसमा मूल्यांकन र हेर्ने काम हाम्रो समितिमा आयो ।”

जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए ।

थापाले पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए। उनले सिंहदरबारमा प्रमुख प्रशासकीय अधिकृत खोज्न दैनिक ५० बढी पालिका अध्यक्ष धाउने गरेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।