कम्युनिस्टहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस विस्तारै सक्किन्छ : शेखर कोइराला

कम्युनिस्टहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस विस्तारै सक्किन्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले निर्वाचनमा कम्युनिस्टसँग गठबन्धन गर्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनमा कम्युनिस्ट दलहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस विस्तारै सक्किने बताएका हुन् ।

उनले चुनावमा गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गर्न सकिने बताए । उनले भने, ‘चुनावमा कम्युनिस्टसँग गठबन्धन गर्दै जान थाल्यौँ भने हामी विस्तारै सक्किन्छौँ, चुनावमा गठबन्धन गर्ने कि चुनावपछि गठबन्धन गर्ने सोच्नुपर्छ । यदि गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गठबन्धन गर्न सकिन्छ ।’

नेता कोइरालाले मुलुक परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन हुनुपर्ने बताए । ‘देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकरिझ्याइमा हामी गइरकेका छौँ । यो सधैँ रहँदैन ।’

कोइरालाले अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको नभएको बताए । ‘अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको हो भन्ने लाग्दैन । हामीले काम गर्न नसकेको आक्रोश हो,’ उनले भने, ‘हामीले आफ्नो आचरण, व्यवहार र उच्च महत्त्वकांक्षा त्यागेर अघि बढ्न जरुरी छ ।’