नेपाल किन समृद्ध बन्दैन ?

नेपाल किन समृद्ध बन्दैन ?



देशको नेतृत्व गर्ने नेतालाई देश समृद्ध बनाउन के के गर्नुपर्छ भन्ने मात्र होइन, के के गर्नु हुँदैन भन्ने पनि पूरा ज्ञान हुनुपर्दछ । तर यस्ता कुरा नेपालका कुनै पनि शासकले बुझ्न सकेनन् या आफू शक्तिशाली रहिरहन बुझ्नै चाहेनन । राज्यलाई गतिशील बनाउन प्रशासन अनि राज्यका संबैधानिक अङ्गहरु चुस्त दुरुस्त हुनुपर्ने थियो तर राज्यका सम्पूर्ण अङ्गहरुलाई अपांग बनाइएको छ ।

नेपालका जुनसुकै समयको सरकारको कार्यशैली हेर्दा मन्त्रालय, बिभाग अनि सरकारी सस्थाहरुको कार्यशैली हेरे पुग्छ । पुर्वाधार मन्त्रालय देशको भौतिक पुर्वाधार बिकाश गर्न मै असक्षम छ । गृह मन्त्रालय अपराधीलाई कार्बाही गर्न सक्दैन । रक्षा मन्त्रालय सीमानाको रक्षा गर्न सक्दैन, शिक्षा मन्त्रालय जनतालाई दक्ष र स्वरोजगार शिक्षा दिन असमर्थ छ, कृषि मन्त्रालय किसानको समस्या सम्बोधन अनि मलखाद, बिउ बिजनको ब्यबस्थापन गर्न सक्दैन, स्वास्थ्य मन्त्रालय गरिब जनताको स्वास्थ्यमा संबेदनशील छैन, भुमि सुधार मन्त्रालय श्रम गरेर खाने किसानलाई जग्गा दिने नीति बनाउन सक्दैन, श्रम तथा रोजगार मन्त्रालय देशमा रोजगार दिलाउने भन्दा पनि देशका युवाहरुलाई वैदेशिक रोजगारमा प्रोत्साहन गर्छ । पर्यटन मन्त्रालय पर्यटक भित्र्याउने नीति बनाउन सक्दैन, उधोग मन्त्रालय उद्योग धन्दा, कलकारखानाको संरक्षण गर्न सक्दैन, उर्जा मन्त्रालय बिजुली अनि सिचाइँ मन्त्रालय किसानको खेतिबालीमा सिचाइँको ब्यबस्थापन गर्न असमर्थ छ । खानेपानी मन्त्रालय पानी दिन अनि अर्थ मन्त्रालय जनताको रगत पसिनाबाट उठेको करलाई समानुपातिक बाँडफाड अनि सदुपयोग गर्न सक्दैन ।

राष्ट्रिय योजना आयोगलाई हेर्दा देश बिकाश गर्ने खालको योजना नै बनाउँदैन, अख्तियर, सम्पत्ति शुद्धिकरण आयोग भ्रस्टाचारीलाई कारबाही गर्दैन, महालेखा परिक्षक कार्यालय सरकारी बेरुजु फर्छ्योट गर्न उदासिन देखाउछ, कार्यपालिका देश र जनता समृद्ध बनाउन अग्रसर छैन, ब्यबस्थापिका देश बनाउने बिधयक अनि ऎन, कानुन बनाउन उदासिन देखिन्छ, न्यायपालिका समयमै न्याय दिन अनि सिधासाधा, निमुखा जनतालाई न्याय दिलाउनमा संबेदनशील छैन । अझ भन्ने हो भने न्याय नै खरिद बिक्री हुन्छ ।

यति भनिसक्दा यहाँ उल्लेख नभएका राज्यका निकायहरुको वर्णन नै गर्नु पर्दैन । ति सबै आफ्नो कार्य सम्पादनमा निकम्मा छन् ।

देशमा राजनीतिको आडमा यति धेरै बिकृति भित्र्याइयो की गुन्डागर्दी गरेर दिन दहाडै मान्छे मार्दा पनि आममाफी पाउँछ, देशका ठूला ठूला भ्रस्टाचारका काण्डलाई सामसुम पारिन्छ, सुन कान्ड, भुटानी शरणार्थी कान्ड, यति, ओम्नी, वाइडबडी खरिद प्रकरण जस्ता सयौ कान्डहरुलाई राजनैतिक आडमै मत्थर बनाइन्छ । यी र यस्ता कान्डहरुको जरा केलाउँदै गयो भने प्रमुख दलका मुख्य नेताहरू कै संलग्नता भेटिन्छ । अनि ति प्रमुख दलका मुख्य नेताहरु यस्ता कान्डहरुलाई बिषयान्तर गर्दै गणतन्त्र खतरामा परेको हौवा फैलाउदै जनतालाई दिग्भ्रमित पारिरहन्छन । देशका बुद्धिजीवी भनिएकाहरु पनि यस्तै नेताहरूको दास बनेर तिनै नेताहरूको बोलिलाई समर्थन गर्दै सरकारी पद र सुबिधा मोहमा आफ्नो बिज्ञताको बली दिन्छन ।

यसरी हेदा राज्यले जुन उद्देश्यका साथ जनताको कर खर्च गरेर ति निकायहरु स्थापना गर्यो त्यस्ता निकायहरु जनतालाई सेवा सुबिधा दिन भन्दा पनि जनतालाई शोषण गर्न र प्रताडित गर्न मै मस्त भइरहे । सेना, पुलिस, कर्मचारी, शिक्षक, जनप्रतिनिधि गरेर झण्डै ९ लाख जनशक्ति अनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु गरेर झण्डै ८सय जति पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्व मन्त्रीहरुलाई दिने सुबिधा अनि उनिहरुका पिए, आसेपासेलाई तलब भत्ता र सुबिधा दिन मात्र अहिले राज्यको १३ खर्ब भन्दा बढी रकम खर्च हुन्छ । तर बिकास खर्च ३ खर्बको हाराहारीमा छुट्याइन्छ तर त्यो ६० प्रतिशत पनि खर्च हुँदैन । देशको पुर्वाधार बिकास कसरी हुन्छ ? जनताको दैनिक जनजिवीकालाई सहज बनाउने राज्यका यि निकायहरुले आफ्नो कर्तव्य पूरा नगर्दा देश संसार कै तन्नम देशमा गनिदै छ ।

हाम्रो देशलाई बिभिन्न ब्यबस्थाको प्रयोगशाला बनाइयो तर कुनै पनि ब्यबस्थामा देशको मुहार फेरिएन राष्ट्र एकीकरण भएपछिको शाहकाल होस वा त्यसपछिको एकतन्त्रीय राणा शासन, ०७ सालपछिको प्रजातान्त्रिक ब्यबस्था वा ०१७ सालपछिको प्रत्यक्ष राजतन्त्र फेरि आन्दोलनको बलमा आएको ०४६ सालको बहुदलीय ब्यबस्था नेपालमा कुनै ब्यबस्था पनि बिकाशमुखी हुनसकेन । देशको मुहार फेर्छु भनेर हज्जारौ जनता मारेर ल्याइएको लोकतान्त्रिक र गणतान्त्रिक ब्यबस्थामा त देश झन अधोगतितिर जाँदैछ ।

त्यसैले देश बिकास गर्ने नै हो भने कुनै बाद र तन्त्रले छेक्दैन किनकी खाडिमुलुकमा निरङ्कुश राजतन्त्र छ त्यो देशहरु समृद्ध नै छन । चीनमा कम्युनिस्ट ब्यबस्था छ, तर चीन बिश्व कै समृद्ध मुलुक हुदैछ । भारत,अमेरीका,बेलायत जस्ता देशहरूमा प्रजातन्त्रले नै मुलुकलाइ समृद्ध बनाएको छ ।

नेपाल बिकास नहुनुको कारण बाद र तन्त्रले होइन देश बनाउछु भनेर नेतृत्व गरेका नेताहरू स्वार्थी, भ्रस्ट अनि पदलोलुप भएकै कारणले हो भन्नु अतिसय नहोला, किनकी जब प्रत्येक सरकारको प्रधानमन्त्रीहरु सरकारबाट हटेको दिन पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकाल सफल रहेको दावी गरिरहँदा देश चाहि किन असफल भइ रहन्छ ? के यो सोचनीय बिषय होइन ? साँच्चै भन्नु पर्दा यो र यिनै कारणले गर्दा नै नेपाल नबनेको हो । यसमा कुनै दुइमत छैन ।