मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा दुर्घटना भएको हो : गगन थापा

मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा दुर्घटना भएको हो : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘म पनि थोरै समय मन्त्री भएको हुँ। कतिपय कुरा अनुमान गर्न सक्छु। हामीले के ख्याल गर्नुपर्छ भने मैले गर्छु भनेर मन्त्री अगाडि बढे पिएसओले रोक्दैन,’ ‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान गयाे । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।’

उनले भौतिक पूर्वाधार मन्त्री ज्वालाले गरेको यो लापरबाही छानबिन समितिले हेर्छ कि हेर्दैन भनेर प्रश्न गरेका छन् । उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए ।

बैठकमा थापाले रोजगार अनुमति प्रणालीमा देखिएको समस्याबारे श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालय पनि चुकेको बताएका छन् ।

सांसद थापाले माइतीघरको निषेधित क्षेत्र हटाउन गृहमन्त्री श्रेष्ठसँग आग्रह पनि गरेका छन् । उनले आवाज सुनाउने ठाउँ माइतीघर निषेधित हुँदा आन्दोलनकारीहरू यत्रतत्र छरिएको टिप्पणी गरेका छन् ।