बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको भूमिका छानबिन गर्न निर्देशन

बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको भूमिका छानबिन गर्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकमा कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।

‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भने ।

पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका क्रममा शुक्रबार झडप भएको थियो ।

झडप भइरहेको समयमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला आन्दोलनस्थलमा पुगेका थिए । मन्त्री त्यस क्षेत्रमा पुगेको केहीबेरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो ।

समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताएका हुन् ।

‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु’, उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठको प्रतिबद्धता छ ।