काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा उनले यो घटना सामान्य नभएको बताए ।
“केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन्,” प्रधानमन्त्रीले भने, “गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ ।”
प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना पूर्वानुमान गर्नसक्ने खालको नभएको बताए । पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको बताए ।
आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए । त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी भाष्य बनाउने दुस्साहस भइरहेको बताए । उनले संसारमा मानव जातिले लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को राम्रो व्यवस्थाको विकास नै नगरेको दाबी गरे । उनले गणतन्त्रका पक्षधर दलहरूले जनतालाई गणतन्त्रको महत्व अनुभूति गराउन नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
‘संसारमा मानव जातिले विकास गरेको सबैभन्दा उच्चतम राजनीतिक व्यवस्था भनेकै लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्रभन्दा राम्रो व्यवस्था अहिलेसम्म मानव जातिले विकास गरेकै छैन,’ प्रधानमन्त्रीले भने, ‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउनु निरर्थक छ । यो कुरालाई हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ कि भन्ने लागिरहेको छ ।’
उनले गणतन्त्रको विकल्प गणतन्त्र र थप उन्नत गणतन्त्र मात्रै हुन सक्ने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प अझ विकसित लोकतन्त्र वा गणतन्त्र मात्रै हुनसक्छ । हामीले जनतालाई लोकतन्त्रको अनुभूति गराउन सकेनौँ कि भनेर हामीले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको मैले ठानेको छु,’ उनले भने ।


प्रतिक्रिया