हर्कको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न पुगे दलका कार्यकर्ता

हर्कको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न पुगे दलका कार्यकर्ता



विराटनगर । कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न धरान उपमहानगरपालिका परिसरमा पुगेका छन् । परिस्थिति असामान्य हुनसक्ने भन्दै त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दलका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले अहिले मेयर साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई राखेर छलफल गराइरहेको बताइएकाे छ ।

केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।