राष्ट्रिय सभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत

राष्ट्रिय सभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत

गठबन्धनको बैठक निष्कर्षविहीन



काठमाडौँ । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा र रणनीतिक रुपमा गलत भएकाे भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत भएकाे एक नेताले बताए ।

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने बताइएकाे छ ।

एमालेले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त अघि सारेका छन् ।

गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको र एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।