राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल



काठमाडौं । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ ।

दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने समझदारी बनेको उनले बताए ।

एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको थियो ।

कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्की उम्मेदवार छिन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

कोशी प्रदेशमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ हुन्छ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपा तालमेल गरेमा ४ हजार ६४२ मतभार हुनेछ ।