राजविराजमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते

राजविराजमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते



जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् ।

प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले बताए ।

जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।

शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।