किन पर्‍यो टुर्गान कोषाध्यक्षमा डा. दाहालको उम्मेदवारी ?

किन पर्‍यो टुर्गान कोषाध्यक्षमा डा. दाहालको उम्मेदवारी ?



काठमाडौं । नेतृत्वमा पुग्न महिलाले विद्रोहको आगो नै ओकल्नुपर्छ भन्ने दृष्टान्त टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को अधिवेशनमा भेटियो । विदेशीहरुसँगको संसर्गमा रहेर व्यवसाय गर्ने टुगार्नको यो दृष्टान्तसँगै महिला नेतृत्वलाई सहजरुपमा लिनु हुँदैन भन्ने भाष्य पनि निर्माण भएको छ ।

टुर्गानको माघ ११ गते प्रज्ञा भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । ३० औं वार्षिक साधारणसभासम्म आइपुग्दा टुर्गानले महिला नेतृत्वको अनुभव गर्न पाएको छैन । आजका मितिसम्म महिलालाई सदस्यमा सीमित राखेको टुर्गानमा यसपटक कोषाध्यक्ष पदमा डा. विमला दाहालले उम्मेदवारी दिएकी छन् ।

टुर्गान पदाधिकारीमा उम्मेदवारी कायम राख्न धेरै संघर्ष गर्नुपरेको अनुभव डा. दाहालले सुनाइन् । विधान तेर्साएर सदस्यभन्दा माथि उम्मेदवारी दिन नपाउने अर्गेर्ल्याइलाई उनले चुनौति दिएर आफ्नो उम्मेदवारी दर्ता गरिन् । अन्तिम अवस्थामा उनको चुनौतिलाई कसैले रोक्न सकेन ।

पेशामा झन्डै दुई दशकदेखि आबद्ध डा. दाहालले टुर गाइडको लाइसेन्सचाहिँ ढिलो लिएकी हुन् । अनिवार्य भएपछि मात्र उनलाई लाइसेन्सको आवश्यकता महसुस भयो । सन् २०१५ मा अर्थशास्त्रमा विद्यावारीधी गरेकी उनी चिनियाँ भाषाविद् हुन् ।

सल्यानस्थान मावि कीर्तिपुरको प्रिन्सिपलका रुपमा १० वर्ष काम गरेको अनुभव पनि उनीसँग छ । अर्थशास्त्रको ज्ञाता डा. दाहालसँग ११ वर्ष चीनमा बस्दा ३ बच्चासँगै अन्तर्राष्ट्रिय स्कुलमा पढाएको अनुभव पनि छ ।

यति धेरै अनुभव हुँदाहुँदै पनि टुर्गानको कोषाध्यक्षमा तपाईंको उम्मेदवारी किन भन्ने ग्लोब नेपालको जिज्ञासामा डा. दाहालले भनिन्, ‘हाम्रा लागि पर्यटन अर्थतन्त्रको मेरुदण्ड हो । टुरिष्ट गाइड यो मेरुदण्डको अभिन्न अंग हो । तर, गाइडहरुले थोरै पैसामा काम गर्नुपर्ने, वर्ष दिन नै लगातार काम नपाउने, विदेशी गाइडहरुले नेपालमै आएर काम गरिरहेको अवस्था छ । गाइड साथीहरुलाई बेला बेला ट्रेनिङको आवश्यक पर्छ । त्यसबारे सरकारले सोचेको समेत छैन ।’

‘अर्थतन्त्रको मेरुदण्डमा यस्ता समस्या हजारौं छन् । म यी समस्या सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गर्छु, जिम्मेवार निकायलाई समस्या समाधानका लागि सोच्न बाध्य पार्नेछु । यिनै समस्या समाधानको पहल गर्न मैले उम्मेदवारी दिएको हुँ’ डा. दाहालले भनिन् ।

अर्थशास्त्री भएर टुरिष्ट गाइडमा किन आउनु भएको भन्ने जिज्ञासामा उनले भनिन्, ‘म अर्थशास्त्रबाट टाढा छैन । देशको अर्थतन्त्र भनेकै पर्यटन, कृषि, जलस्रोत र सूचना प्रविधि हुन् भन्ने मेरो ठम्याइ छ । काम सानो ठूलो हुँदैन, यही क्षेत्रबाट म आफ्नो विज्ञता देखाउन सकूँ भनेरै लागेको हुँ ।’

जित्नुहुन्छ त भन्ने अर्को जिज्ञासामा डा. दाहालले भनिन्, ‘मसँग मीठा र चिल्ला कुरा छैनन्, ठोस योजना र कार्यक्रम छ । मेरा एजेन्डाले ७ सय ४९ मतदाताको मन जित्छ भन्ने विश्वास मलाई छ । संस्थामा सहकार्य, भ्रातृत्व निर्माण गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने मेरो पहिलो दायित्व हुनेछ ।’

धेरै संख्यामा पर्यटक आए, तर गुणस्तरीयताको अभाव हामीसँग खड्किएको छ । संख्या धेरै होइन खर्च धेरै गर्ने पर्यटक हामीले भित्र्याउनुपर्छ । आफ्नो देशमा भन्दा थोरै लगानीमा नेपाल घुम्न आउने पर्यटक धेरै भएको डा. दाहालको विशेषण छ । मुहान धमिलो भएकाले यो समस्या सिर्जना भएको हो । पर्यटन प्रवद्र्धन गर्ने हो भने यसलाई सुधार गर्न जरुरी रहेको डा. दाहालको निष्कर्ष छ ।