माघ २२ गते संसद अधिवेशन बोलाउन सिफारिस

माघ २२ गते संसद अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यहि २२ माघमा संघीय संसदका दुवै अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेललाई २२ माघ अपराह्न ४ बजेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

त्यसैगरी सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रि रेखा शर्माका अनुसार बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।