मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी



जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राजीनामा दिएकाे पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले बताए ।

पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे छ ।

केन्द्र सरकारबारे भने केही निर्णय नभएको बताइएकाे छ । जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ ।

हिजोमात्रै सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री यादव र जनमतका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

विश्वविद्यालयको सहकुलपति शिक्षामन्त्री यादव छन् । आफूसँग समेत सहकार्य नगरी शिलान्यास गरेको उनको आरोप छ ।

सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै जनमतका अध्यक्ष डा. सीके राउत विजयी भएका थिए । तर, उपेन्द्र यादवबाट विश्वविद्यालय भवनको शिलान्यास गराएपछि जनमतका मन्त्री र नेताहरु विरोधमा उत्रिएका थिए ।