निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कोशीमा दुई गठबन्धनको छुट्टा छुट्टै भेला

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कोशीमा दुई गठबन्धनको छुट्टा छुट्टै भेला



विराटनगर । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा छुट्टा छुट्टै भेला गरेका छन् ।

निर्वाचनको मौन अवधिको समयमा सत्ता गठबन्धनले विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान चियापानको बहानामा राष्ट्रिय सभा उम्मेदवार र मतदाता भेला गरेको छ । सत्ता गठबन्धनको विपक्षमा अर्को मोर्चा बनाएका एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका छन् ।

एमालेका नेतासमेत रहेका उद्योगी मोती दुगडको होटल ह्यारिसनमा एमाले महासचिव शंकर पोखरेल र राप्रपा नेताहरूसहित उम्मेदवार र मतदाता भेला भएका थिए ।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार र मतदाता कांग्रेस नेता शेखर कोइरालाले आयोजना गरेको चियापानमा सहभागी भएका छन् । बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि पनि दुवै पक्षले यस्तो गतिविधि जारी राखेका हुन् ।

कोइरालाले राखेको चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, माओवादी नेताहरू पनि उपस्थित थिए ।

निर्वाचन आचारसंहिता लागु भएको बेला उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । तर दुवै गठबन्धनले आचारसंहिता उल्लङ्घन गरेर भेला राखेका हुन् ।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनका तर्फबाट कोशीमा अन्यतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन् ।

एमाले–राप्रपा गठबन्धनबाट अन्य कोटामा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।