नेपाल र पाकिस्तानबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य

नेपाल र पाकिस्तानबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य



काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ दृष्य देखिएकाे छ ।

विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएर नै एकै बलमा पाँच रन बनाएका छन् । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ ।

तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा नेपालका सुवास भण्डारी र आकाश चन्दले उक्त पाँच रन जोड्न सफल भएका हुन् ।

जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए । दुई रन सजिलै जोडेका थिए । तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गरेका थिए ।

त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो ।

नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भयो ।