नेपालगञ्जका तीन विकास योजनाको काम सुरु

नेपालगञ्जका तीन विकास योजनाको काम सुरु



बाँके । नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच सुरु गरिएको हो ।

यी दुवै सडक स्तरोन्नतिको स्थलगत अनुगमन गर्दै नगर प्रमुख प्रशान्त विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पिच हुन लागेको हो । ६० लाख रूपैयाँ बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासँगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए ।

नगरस्तरीय ७५ लाख रूपैयाँ बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए ।