विश्वकै सबैभन्दा ठूलो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो

विश्वकै सबैभन्दा ठूलो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो



काठमाडौं । जब कुरा क्रुज जहाजको आउँछ, तब विश्वभरका मानिसहरूको दिमागमा ‘टाइटानिक’ जहाजको नाम आउँछ । तर, यसै महिनादेखि ‘आइकन अफ दी सिज’ नामक विशाल पानी जहाज पहिलोपटक सञ्चालनमा आएको छ । जुन पानी जहाजले टाइटानिकको झल्को मेटिदिने विश्वास गरिएको छ ।

किनभने टाइटानिकभन्दा यो पानी जहाज पाँच गुणा विशाल छ । विश्वकै सबैभन्दा ठूलो यो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किसकेको छ । आइतबार फ्लोडियाको मायामीमा यो जहाजको उद्घाटन गरिएको छ ।

आइकन अफ दी सिजको कुल लम्बाइ ११ सय ९७ फिट रहेको छ भने यसको तौल २ लाख ५० हजार ८०० गिगाटन रहेको छ । २० तल्ले यस जहाजमा एक पटकमा ७ हजार ६ सय यात्रुले यात्रा गर्न सक्छन् ।

रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेस्टुरेन्ट र बार हुनेछन् । यी सबै रेस्टुरेन्ट र बारमा बलिङ गेमको व्यवस्था छ । यस्तै, यो क्रुजमा सातवटा स्वीमिङ पुल पनि छ भने एक वाटरपार्क छ । यो वाटरपार्क संसारको अन्य कुनै वाटरपार्कको तुलनामा उत्कृष्ट छ । क्याटेगोरी ६ नामक यो वाटरपार्कमा ६ वटा वाटर स्लाइड रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार जहाजको सबैभन्दा सस्तो टिकट १८ सय ५१ डलर छ । यो टिकटले मायामीदेखि वेस्टर्न क्यारिबियनसम्मको यात्रा गर्न सकिन्छ । यस्तै, जहाजको सबैभन्दा महँगो टिकट १० हजार ८६४ अमेरिकी डलर छ ।

सुरक्षाका लागि जहाजमा १७ वटा लाइफबोट राखिएको छ । एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ ।