इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड



तेहरान । इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले सोमबार बिहानै चार जनालाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफीका अनुसार मोहम्मद फरामर्जी, मोहसिन मजलूम, वफा अजरबर र पेजमन फतेहीलाई मृत्युदण्ड दिएको हो ।

यी चारै जनालाई २०२२ मा इशफहान प्रान्तस्थित रक्षा मन्त्रालयको केन्द्रमा आक्रमण गर्ने योजना भएको आरोपमा पक्राउ गरिएको थियो ।

इरानको समाचार एजेन्सी मिजानलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘सोमबार मृत्युदण्ड पाउने यी चार जना जायनिस्ट (इजरायल) खुफिया संगठनसँग जोडिएका थिए । उनीहरूलाई इशफहानमा आक्रमणको षड्यन्त्र गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।’

इरानका अनुसार यी चार जनालाई इजराइलको खुफिया एजेन्सी मोसादले आफ्नो अभियानमा एक–डेढ वर्षपहिला भर्ती गरेको थियो । मिजान अनलाइनको समाचारअनुसार यी चार जनालाई सैन्य तालिम दिन अफ्रिकी देश पठाइएको थियो, जहाँ मोसादका अधिकारीहरू थिए । उनीहरूलाई सेप्टेम्बर २०२३ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।