काठमाडौं । सुल्तान इब्राहिम मलेसियाको १७ औं राजा नियुक्त भएका छन् । उनी दक्षिणी राज्य जोहोरका सुल्तान थिए ।
मलेसियाका राजा अल सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहको पाँच वर्षे कार्यकाल समाप्तिसँगै उनी बिदा भएपछि सुल्तान इब्राहिम मलेसियामा नयाँ राजा नियुक्त भएका हुन् ।
मलेसियन नागरिकहरू राजालाई याङ दि-पर्तुआन अगोङ भन्छन् । देशका ९ मले राज्यका सुल्तानहरूलेको बैठकले राजा चयन गर्छ ।
गत वर्षको अक्टोबर २३ मा बसेको बैठकले ६५ वर्षीय सुल्तान इब्राहिमलाई देशको १७ औं याङ दि-पर्तुआन अगोङ नियुक्त गर्ने निर्णय गरेको थियो ।
सो अनुसार बुधबार क्वालालम्पुरस्थित नेशनल प्यालेसमा उनले शपथ लिएका हुन् ।
याङ दि पर्तुआन अगोङको कार्यकाल पूरा गरेका अल सुल्तान अबदुल्लाह सुल्तान अहमद आफ्नो गृहराज्य पहाङका सुल्तानको जिम्मेवारीमा फर्कनेछन् ।
मलेसियामा राजाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सल्लाहअनुसार काम गर्छ तर विशेष परिस्थितमा अख्तियार गर्न पाउनेगरी विशेष अधिकारको समेत प्रबन्ध गरिएको हुन्छ ।
प्रधानमन्त्रीलाई हटाउने, संसद विघटन गर्ने लगायतका अधिकार राजालाई हुन्छ तर त्यसका लागि विशेष परिस्थिति आवश्यक रहन्छ । सामान्य अवस्थामा भने राजाले त्यो अधिकार प्रयोग गर्न पाउँदैन ।
सन् २०२० को राजनीतिक संकटका बेला सुल्तान अब्दुल्लाले प्रधानमन्त्री महथिर मोहम्मदलाई राजीनामा गराएका थिए । एजेन्सी
प्रतिक्रिया