भारतको झारखण्ड राज्यका मुख्यमन्त्री भ्रष्टाचार मुद्दामा पक्राउ

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री भ्रष्टाचार मुद्दामा पक्राउ


ग्लोब नेपाल
162
Shares

राँची । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालयले गएराति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभर बयान लिएका निर्देशनालयका अधिकारीहरुले राति नियन्त्रणमा लिएका हुन् ।

मुख्यमन्त्री सोरेनमाथि जग्गा खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । निर्देशनालयले पक्राउ गरेको औपचारिक जानकारी अघि सोरेनले राति नै राज्यपालसमक्ष पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । निर्देशनालय केन्द्र सरकार मातहतको निकाय हो । यसले सम्पत्ति सुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघन लगायतका विषयमा छानबिन गर्छ ।

राँचीमा रहेको भारतीय सैनिक मातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ । राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले यो मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो । सोरेनले भने धेरै दिनदेखि बयान दिन अस्वीकार गर्दै आएका थिए ।

झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिए । उनी आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्छन् । सोरेनको राजीनामा तथा उनको पक्राउ प्रकरणपछि झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोरेनको पार्टी झारखण्ड मुक्ति मोर्चाले चम्पाई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ । ८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् ।